कविता – मुक्तिको लागि होस् (विपेन आदिमा)

  जन्मभूमि संवाददाता

कामी दाइको आरान
एक वैज्ञानिक प्रयोगशाला
चलाऊ
आरानको भाँटी र खलाँती
जलाऊ
कालो गोलका साम्राज्य
तताऊ
चिसिएका फलामहरू
उठाऊ
छिनो, मैरी र घन
त्यसलाई, कुट्दै
पिट्दै
नयाँ आकार देऊ,
अर्चाप,
धार लागाऊ
पाइन हाल
त्यो नयाँ परिवर्तन र क्रान्तिको लागि होस्
शोषकवर्गको शिर छेदनको लागि होस्
उत्पीडित वर्गको मुक्तिको लागि होस् ।

यो समाज व्यवस्थाबाट
बहिस्कृत,
अछुत – अपहेलित,
शोषित,
दमित,
उपल्लो किनारमा पाखा लगाइएका,
तल्लो पिँधमा पारिएका
ए ! मान्छे भएर बाँच्न नपाएका मान्छेहरू
उठ, जाग
परिस्थिति जस्तोसुकै होस्
मनस्थिति स्थिर बनाऊ
तिमी मुर्दा होइनौ
तिमी सल्बलाउँदा
त्यो शासन सत्ता हल्लिने छ
तिमी चिच्याउँदा
त्यो व्यवस्था खलबलिने छ
तिमी
अझै चिच्याऊ – कराऊ
झनै सल्बलाऊ
तिम्रा आवाजरूले
तिम्रा छटपटाहटले
पुराना भत्किने छन्
नयाँ निर्माण हुनेछन्
त्यो निर्माण
न्यायको लागि होस्
समानताको लागि होस्
उत्पीडित वर्गको मुक्तिको लागि होस् ।

त्यो व्यवस्थाले विद्रोह जन्मायो
यो विद्रोहले परिवर्तन जन्माउने छ
ए गाइने दाइ !
तिम्रो सारङ्गिमा क्रान्तिको भाका हाल
सर्वहारा वर्गको मुक्तिको गीत गाऊ
फैलियोस् तिम्रो सारङ्गिको धुन कुना-कन्दरासम्म
तिम्रो संगीतले संसार बिउँझियोस्
ए ! दमिनी दिदी
तिम्रो सियोको नथीमा धागो उन
हिम्मत गर
हसिया हथौडाको बुट्टाभर
ती लाल झण्डामा
तिमीले नै फहराउनु पर्छ
त्यो विजय उत्सवमा,
संगठित होऊ
एकता नै शक्ति हो
अघि बढ
अझै संघर्ष गर
त्यो शक्ति र संघर्ष
नयाँ परिवर्तनको लागि होस्
क्रान्तिको लागि होस्
उत्पीडित वर्गको मुक्तिको लागि होस् ।

-विपेन आदिमा
चौसागढी-३ सिन्धुपाल्चोक ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार