कविता-आमा अब मैले मैले बन्दुक उठाउनुपर्छ

  जन्मभूमि संवाददाता

आजैदेखि रोकिदिएँ मेरो कलमको यात्रा
कलमको पिनले जति घोचे पनि
बरू कलम नै भाँचियो तर खुलेन चेत कसैको
त्यसैले अब म कलम होइन बन्दुकको आवश्यकता बोध गर्दै छु
मलाई माफ गर आमा !
म तिमीले देखएको बाटो हिँड्न सकिन
म मरेछु भने पनि कुनै पीर नमान्नु
अब मेरो पालो,
मेरो देशको लागी मेरो नि रगत बगाउनुपर्छ
आमा! अब मैले बन्दुक उठाउनुपर्छ ।

न्याय मरेको देशमा कानुनको सम्मान के हुन्थ्यो !
बलात्कारपछि हत्या गरिएको मेरी बहिनीको लास
अस्पतालमै छ वर्षौंदेखि,
राजनैतिक संरक्षण, लुकाइयो अपराधी
कुर्सी जोगाउन देशै बेच्न तयार हुनेहरूले
उडाउदैछन् नारी अस्मिताको धज्जी
यिनीहरूलाई एक एक भुट्नु छ आमा !
बहिनीको छटपटाएको आत्माले शान्ती पाउनुपर्छ
त्यसैको लागि पनि
आमा ! अब मैले बन्दुक उठाउनुपर्छ ।

त्यसो नभन्नु न आमा
शान्तिमा बाँच्ने कसलाई चाह हुन्न र !
खै कसले धर्म निभाएका छन र यहाँ ?
समानता, स्वतन्त्रता, न्याय र शान्तिको सपना बोकेर
राष्ट्र ,राष्ट्रियता, स्वाधीनता र क्रान्तिको लागि कलम चलाउँदा,
आफ्नो हक र अधिकार माग्दा,
दिदीको सिउँदो पुछियो
अझैसम्म बाको शरीभरी गोलीका छर्राहरू छन्
सबै सपना चक्नाचुर,
शान्ती र क्रान्तिका ठेकेदारहरूले
शासन सत्तमा पुगेपछी बोली फेरे,
अब बेला आएको छ,
यिनीहरूलाई बन्दुकको ताकत फेरि सम्झाउनुपर्छ
दिदीको उजाडिएको सिउँदोले न्याय पाउनुपर्छ
बाको सपना पुरा हुनुपर्छ
आमा ! अब मैले बन्दुक उठाउनुपर्छ ।

हो आम लडाइँ र झगडा असल होइन
अन्याय, अत्याचार, शोषण, विभेद र दमनचाहिँ असल हो र ?
यसको विरूद्धमा लड्नै पर्छ मैले
म नलडे कसले लड्ने ?
मैले नगरे कसले गर्ने ?
आमा तिमीलाई थाहा छ नि !
अझै पनि हामीले छोएको पानी चल्दैन
यो सामाजिक व्यले हामीलाई नान्छे नै ठान्दैन
एउरै धर्मसँस्कृतिभित्र पनि कोही सर्वश्रेष्ठ ठुलो छुत जात
अनि अर्को तुच्छ सानो जात अछुत यस्तो विभेद किन र कहिलेसम्म ?
संसारबाट देवता हराईसके आमा ! अझ भनौं देवता नै छैनन्
यो त सब शोषण गर्ने बाहना हो
तिमीले भनेझैं देवताले बनाएको हो भने पनि म यस्तो विभेदी देवता मान्दै मान्दिनँ
मलाई माफ गर आमा
तिमीलाई सहने बानी भयो होला
तर म सहन सक्दिन
अब मैले,
न्यायको लागि अन्यायको जग फुटाउनुपर्छ
आमा ! अब मैले बन्दुक उठाउनुपर्छ ।

कोरोनाको महामारीले देशै थला परेको छ
रोग, भोक र शोकले मर्दैछन् जनता
आफन्तको वियोगमा चिराचिरा च्यातिएको मन
न घरमा खाने अन्न छ न त औषधी उपचार
सिटामोल र अक्सिजन मै अर्बौंको भ्रष्टाचार
जनता मरिरहेछन् नपाएर सास फेर्न
नेता लागिपरेका छन् हात धोएर सत्ता फेर्न
यो कस्तो बिडम्बना !
मानवता हराएको मेरो देश
अति भयो अब त
थाहा छैन अझै कत्ति भाग्य फुटाउनुपर्छ
आमा ! अब त मैले बन्दुक उठाउनुपर्छ ।

सम्झनुहोस् त आमा
जातकै कारण बलि बनाइएकाहरूलाई
कतिन्जेल मर्ने अब हामी !
अब कोही पनि अन्यायमा परेर मर्नुपर्ने छैन आमा,
तिमीले भनेझैँ बन्दुक उठाउनु पाप हो भने
अन्याय अत्याचार सहनु झन महापाप हो
यहाँ ,
हामीले तिरेको करबाट भुँडी भर्नेहरूले
हाम्रै पेटमा लात हान्दैछन्
खै कस्तो व्यवस्था हो यो ?
मान्छे मान्छे नै भएर बाँच्न पाएको छैन
मान्छे मार्नेलाई मन्त्री छानिन्छ
अनि जनतालाई उसकै आँगनमा पराई ठानिन्छ
म मेरै घरमा विरानु हुनु छैन आमा !
दुई सय घुस खाने कर्मचारीलाई जेल हाली
दुई अर्बको भ्रष्टाचारीलाई लुकाउने मेरा शासकहरू
धनी सधैं धनी भैराख्ने अनि गरिब अझै गरिब हुने मेरो देशको शासन व्यवस्था
मान्छेलाई कुकुरभन्दा पनि तल्लो स्तरमा राखेर व्यबहार गर्ने मेरो समाज
अहँ केही ठीक छैन आमा
अब यसरी हुँदैन
अब म जाँदै छु, आशीर्वाद दिनुहोस् मलाई
आँशु झारेर कमजोर नपार्नुहोस् मलाई
यो घातक व्यवस्था फेर्नलाई हिम्मत जुटाउनुपर्छ
आमा ! अब मैले बन्दुक उठाउनुपर्छ ।

विपेन आदिमा
चौ. सा. गढी न.पा.- ३ सिन्धुपाल्चोक । हाल : ललितपुर ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार