![](https://www.janmabhumipost.com/wp-content/uploads/2020/11/received_130465178643465.jpeg)
काठमाडौं
लेखक बिएन जोशीद्वारा लिखित पुस्तक श्रमाटन शुक्रबार होटल ग्रिनविच भिलेज ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । सामूहिक रुपमा सार्वजनिक गरिएको उक्त पुस्तकमा लेखक जोशीले विदेशीने क्रममा भोगेका पीडा उल्लेख गरिएको छ । आफ्नो पारिवारिक निर्णय विपरीत मलाया लाहुरेका कथाले चिमोटिरहेका जोशी कलिलै उमेरमा आर्थिक क्रान्तिमा लाग्ने क्रममा पाएका दुख समेटिएको छ । उनको मात्रै पीडा नभई समग्र विदेशिएका युवाहरूको जीवनगाथा हो ।
पत्रकार समिक्षक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा, लेखक मालिका केशरी, कवि लक्ष्मी रुम्बा, लेखक आन्विका गिरी, प्रकाशक मणि शर्मा, शुभ मल्ल, जगदीश भेटुवाल, भुवन बरालसहित लेखक स्वयंले पुस्तक सार्वजनिक गरेका हुन् । सार्वजनिक लगत्तै समीक्षक बानियाँले ९० को दशकदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा जाने क्रममा सबै नेपालीले भोगेको साझा पिडाको प्रतिनिधित्व श्रमाटन भएको उल्लेख गरे । उनले थपे यस्तो प्रतिनिधिमुलक पुस्तकलाई लामोसमय सम्म प्रकाशकहरुले होडबाजीमा अलमलमा राखेर अन्तिममा साङ्ग्रिलाले बजारमा ल्याएकोप्रति गर्व गरे ।
यसैगरी अर्को समीक्षक लामाले रोजगारीको क्रममा पीडा भोगेका भुइँमान्छेको यथार्थलाई श्रमाटनले प्रतिनिधित्व भएको व्यक्त गरिन् ।
यसैगरी साङ्ग्रिल प्रकाशन प्रालिका मणि शर्माले यसरी वृतान्त सहितको पुस्तक व्यापक नआएको बेलामा जोशीजीको श्रमाटन प्रकाशन गर्न पाउँदा आभार प्रकट गरे ।
लेखक जोशीको यसअघि निरर्थक २०६१ र मोडर्न बेली २०७३ गरि दुई पुस्तक आइसकेका छन् ।
साविक छाङ गाविस मनोहरी हाल म्याग्दे गाउँपालिका तनहुँ निवासी जोशीले २ सय १४ पृष्ठ पुस्तकलाई दुई खण्डमा बाँडेका छन् । पुनर्जीवन र सफर रहेको छ । पुनर्जीवनमा उत्मात, निग्रह, ठाँटीको बास, आँपको भात, पुनर्जीवन, उद्धार, अमुक हाँसो, गोल्डेन बैङ्कक गेस्टहाउस, सोमकित र बिस्मात गरि १० शिर्षक रहेका छन् ।
यसैगरी सफरमा आउट जेल,सुकुटी, उड्दाउड्दै उड्यो डेढ लाख, डिना सुलोभा र गडबडे गोविन्द रहेका छन् ।