सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि रु. ५४ करोड ३० लाख ७५ हजार बराबरको बजेट विनियोजन गरेको छ। आइतबार सम्पन्न १५ औं गाउँसभाबाट सर्वसम्मत निति तथा कार्यक्रम पारित गरिएको छ। सभाबाट पारित गरेको बजेटमा संघीय सरकारबाट प्राप्त अनुदान ३४ करोड १८ लाख ३६ हजार, बागमती प्रदेश सरकारबाट अनुदान ६ करोड ४० लाख ४८ हजार, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम ९ करोड ९९ लाख ९६ हजार, आन्तरिक आय अनुमान ९८ लाख ९६ हजार र बैंक मौज्दात २ करोड ७४ लाख १ हजार पेश गरिएको छ।
उपाध्यक्ष एवं बजेट तर्जुमा समितिका संयोजक सरु लामा तामाङले प्रस्तुत गरेको बजेटमा चालू तर्फ ३२ करोड ७२ लाख २९ हजार (बजेटको ६०.२०%), र पुँजिगत तर्फ २१ करोड ५८ लाख ४६ हजार (बजेटको ३९.८०%) अनुमान गरिएको छ।
साथै गाउँपालिकालाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको गैरसरकारी संस्थाहरुको प्रस्तावित बजेटमा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (CWISH) को ५५ लाख १२ हजार, महिला आत्मानिर्भता केन्द्र (MANK) को ८ लाख ९० हजार, आनन्दित उपकार केन्द्र ५ लाख ६६ हजार र सप्रोस नेपाल (SAPPORS-NEPAL) को १ करोड १० लाख २८ हजार ७ सय ४३ रुपैयाँ पेश गरे।
उपाध्यक्ष लामाले सहकार्य, सहअस्तित्व र समजदारीमा समयमा नै नीति तथा कार्यक्रम अनि बजेट ल्याएको बताउनुभयो। बजेट बनाउँदा हरेक बस्ती र वडाबासीहरु संग सरसल्लाह, छलफल गरि प्राथमिकताको आधारमा वडा-वडा बाटै योजना संकलन गरि सहभागितामुलक बजेट तथा कार्यक्रम तर्जुमा गरिएको जनाए।
सभामा गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ (प्रवेश) ले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। निति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, बलेफी गाउँपालिकाको पञ्चवर्षिय आवधिक योजना र नेपाल सरकार र बागमती प्रदेशको आ.व. २०८१/८२ मा लिएका नीति तथा कार्यक्रमलाई आधार मानेको अध्यक्ष तामाङले बताउनुभयो।
कृषि तथा पशुपालन तर्फ;
अध्यक्ष तामाङले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषि तथा पशु तर्फ हाते ट्याक्टर तथा कृषि औजारहरु अनुदानमा उपलब्ध गराउने, एक वडा एक कृषि उत्पादन, निजि क्षेत्र संग साझेदारीमा दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना, उपाध्यक्ष फलफूल प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता, पशुपालन तर्फ वडा नं. ६ लाई भैंसी पकेट क्षेत्र, बाँझो जग्गामा सुन्तला, कफी, टिम्मुर रोपन, राष्ट्रिय निति बमोजिम गाँजा खेती सम्बन्धि आवश्यक रणनीति अवलम्बन गरिने, उत्कृष्ट युवा उद्यमि कृषक पहिचान गरि सम्मान लगायत रहेको छ।
सिँचाइ तर्फ;
त्यस्तै, सिँचाइ तर्फ सम्भाबित स्थानहरुको पहिचान गरि जमिन मुनिको पानी बोरिङ तथा लिफ्टिङ गर्ने, प्लास्टिक पोखरी निर्माण, टनेल खेतीलाई व्यवस्थित गर्दै थोपा सिंचाइ प्रणालीलाई प्रोत्साहन गरिने लगायत छन्।
पर्यटन, सांस्कृतिक सम्पदा तर्फ;
गढी डाँडा संरक्षण, बुद्धपार्क निर्माण, सेल्ताप माईको मन्दिरलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा परिचित गराउन सेल्ताप पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिने, र्याफ्टिङ व्यवसायलाई प्रोत्साहन गरिने, प्याराग्लाइडिङ र क्यानोनिङलाई पहिचान गरि सम्भाव्यता अध्ययन गरिने लगायत छन्।
उद्योग व्यापार, व्यवसाय तथा आपूर्ति तर्फ;
उद्यमशिल र स्वरोजगार बन्न चहाने युवाहरुलाई सालको पातबाट टपरी, दुना बनाउने तालिम प्रदान, होटल, होम स्टे, पर्यटन प्रवर्द्धन सम्बन्धि व्यवसाय गर्न चहाने व्यवसायीहरुलाई सुरुको ३ वर्ष पालिकालाई तिर्नुपर्ने कर छुटको व्यवस्था गरिने, गाउँपालिकामा दर्ता भई सञ्चालनमा आएको अटो रिक्सा व्यवसायलाई व्यवस्थित बनाउँदै लागिने, सिलाई बुनाई, गलैँचा, डल बनाउनेहरुलाई आधुनिक मेसिन वितरण गर्ने लगायत रहेको छ।
श्रम रोजगार र सामाजिक सुरक्षा तर्फ;
बलेफी पालिका भित्र रोजगारी सृजना, रोजगार बैंक, नमुना रोजगार सेवा केन्द्र निर्माणका लागि स्थानीय तहको रोजगार रणनीति निर्माण गरि सो अनुसार पालिका भित्रका सम्पुर्ण बेरोजगारहरुले रोजगारी प्राप्त गर्ने वातावरण निर्माण गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रम संग पालिकाले साझेदार गरिने, बेरोजगारहरुको तथ्यांक संकलन तथा विश्लेषण गरि सुची अध्यावधिक गरिने, वैदेशिक रोजगारबाट फर्केका १८ देखि ४० वर्ष समुहका १२० जना युवाहरुलाई सिपमुलक तालिम डकर्मी, प्लम्बिङर सडक मर्मत तालिम सञ्चालन गरिने लगायत छन्।
यसैगरी पुर्वाधार विकास तर्फ विभिन्न ग्रामीण सडकहरुको स्तरोन्नति, भौतिक निर्माणमा बालमैत्री, अपाङ्ग मैत्री, वातावरण मैत्री, जेष्ठ नागरिक मैत्री निर्माण गरिने, बस्ती चोकहरुमा सौर्य बत्ति जडान, होर्डिङ बोर्ड, सूचना पाटी राखिने लगायत छन्। खानेपानी तथा सरसफाइ तर्फ एक घर एक धाराको निति अवलम्बन गरिने, गाउँघरमा उत्पादन हुने नकुहिने फोहोरहरुक्ल उचित व्यवस्थापन वडा मार्फत नै गरिने छन्।
शिक्षा तर्फ;
माध्यमिक तह कक्षा १२ सम्म अनिवार्य तथा नि:शुल्क बनाउने नीति प्राथमिकताका साथ लागू गरिने, विद्यालय दरबन्दी मिलान तथा समायोजनलाई अगाडी बढाउने, एस.ई.ई. मा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान स्वरुप १ लाख प्रदान गर्ने, अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने, पालिका भित्रका एमफिल, पिएचडी, गर्न चहानेलाई क्रमशः १ लाख र १ लाख ५० हजार र गाउँपालिकाको विषयमा उच्च एमफिल र पिएचडी गरेमा २ लाख छात्रवृत्ति उपलब्ध गराउने छ। साथै एमबिबिएस अध्ययनका लागि परिक्षा उतिर्ण गर्ने पालिका भित्रला नागरिकलाई १ लाखका दरले छात्रवृत्ति दिने निति प्रस्तुत गरेको छ।
गाउँपालिकाको निर्माण सम्पन्न भई कार्यालय व्यवस्थापन भैरहेको नयाँ भवनको सभाहलमा सम्पन्न भएको गाउँसभामा विनियोजन विधेयक उपाध्यक्ष सरु लामा तामाङले, आर्थिक विधेयक वडा नं. ७ का वडाअध्यक्ष गृविन्द्रकुमार चौलागाईं, न्यायिक समितिको प्रतिवेदन वडा नं. ३ का वडा अध्यक्ष एवं न्यायीक समिती सदस्य रितेश तामाङ र लेखा समितिको प्रतिवेदन तथा बेरुजु फर्स्यौटको विवरण वडा नं. ६ का वडा अध्यक्ष एवं लेखा समिति संयोजक तेजबहादुर पराजुलीले प्रस्तुत गरि अनुमोदन गरिएको थियो। त्यस्तै अध्यक्ष गंगाबहादुर तामाङले पेश गरेको नीति तथा कार्यक्रम माथी वडा नं. १ का वडा अध्यक्ष हुपबहादुर खड्का, वडा नं. २ का वडा अध्यक्ष छविलाल न्यौपाने, ४ का वडा अध्यक्ष सुर्जे तामाङ र वडा नं. ८ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको थियो।