जन्मभूमि – मेरी आमा (कविता)

  जन्मभूमि साहित्य ब्युरो

✍️ विपेन आदिमा (सिन्धुपाल्चोक)

मैलो गुनियोमाथि
टालेको चोली लगाएर
नारी शृङ्गारको अभावमा
मेलापात गर्ने मेरी आमाको
पट्ट पट्ट फुटेको कुर्कुचा
अशिक्षा र गरिबीले
चरर चरर च्यातिएको मन
कलेटी परेको ओठ, चाउरिएको गाला
बाँध्ने काटाको अभावमा
वेवारिसे छोडिएको कपाल
देखेर अवस्था यो
झाक्रो फिँजाएकी
बोक्सी भन्दै,
मेरी आमालाई यातना दिने
मित्र मेरा गाउँलेहरू
खड्किरहन्छन् अझै मनमस्तिष्कमा मेरो।

गाउँ त्यही हो –
जहाँ मेरी आमाले घाँस काट्दाकाट्दै
जन्मिएको रे म,
बुबासँगै त्यो आरानको धुलो र धुवाँमा
हुर्कीएको म
खरानीभित्र लडिबुडी गर्दै ।
झिल्काले –
तातो फलामको
प्वालैप्वाल परेको
एकसरो दौरा लगाएर
धोस्रो र फुस्रो हुँदै
चैतको तालु सेक्ने घाम अनि
पुसमाघको त्यो कठ्याङ्ग्रिदो ठन्डी कटाउन विवश मेरा बा,
तरुनी उमेरमा बूढो लोग्नेको छहारीमा बसेकी
मेरी आमाले –
अँध्यारोभित्र सुस्केरा हाल्दै
विष्टहरुको बलेँसीमा  सधैं डालो थापिरहिन् ।

लेख्नको निमित्त
लिएर खरीपाटी
दौरा र कट्टुको भेषमा
लागाएर तुने चप्पल
स्वर्गकै आभाष हुन्थ्यो –
स्कुल जान पाउँदा ।
तर,
कक्षामा सँगै बस्ने साथीको अभाव
भोक र प्यासले सताउँदा –
शुद्रले छोएको चल्दैन भन्दै
अफिस कोठाको पानीको घैँटो छुन नदिने
मेरा मास्टर साहेब,
स्कुल जादा आउँदा
बाटो छेकी मलाई पिट्ने मेरा साथीहरू,
अतितमा अझै बिझाई रहेछ।
सम्झदा मुर्छा परे पनि
बर्बर्ती आँसु झरे पनि
माया घटेको छैन रत्तिभरि ।

बा र आमाले संसार छोडेपछि
मैले गाउँ छोडेँ
बर्सौँपछि –
यो काठमाडौ खाल्टोभित्र बसेर
मनभरि सम्झिरहेछु
मैले खाईखेली हुर्केको मेरो गाउँ
मेरो दुखमा सँगै रुने मेरा साथी
राखेको छु मुटुभित्र
जन्म दिने मेरी प्यारी आमा
सारा पीडा भुलाउने
तिम्रो न्यानो काख – तिम्रो न्यानो माया
मेरो जन्मभुमि – मेरी प्यारी आमा
मेरो जन्मभुमि – मेरी प्यारी आमा ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार