शैलुङ को डाँडामा निर्मित ज्याङ्छ्युब छ्योर्तेनको शुद्धीकरण तथा प्राणप्रतिष्ठा सहित उद्घाटन सम्पन्न

  जन्मभूमि संवाददाता

दोलखा,
दोलखा र रामेछाप जिल्लाको सङ्मस्थल प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शैलुङमा निर्मित ‘शैलुङ ज्याङ्छयुब छ्योर्तेन (बोधि चैत्य)’को भव्य समारोहबिच प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ । बिहीबार प्रमुख अतिथि एवं लामा धर्मगुरु प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछेद्वारा धार्मिक विधि ह्राब्ने (शुद्धीकरण तथा प्राण प्रतिष्ठा) सम्पन्न गरी छ्योर्तेनको उद्घाटन गरिएको हो ।
समुन्द्री सतहदेखि ३१४५ मिटरको उचाइमा निर्मित छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा विशेष अतिथि टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको उपस्थिति रहेको थियो ।
यस्तै विशिष्ठ अतिथिहरूमा नेपाल बौद्ध महासङ्घका  धर्म गुरु कमल भण्डारी, धर्म गुरु ङाक्पा पेमा राङडोल, लोपेन सोनाम र सर्वाजित गोङ्बाको उपस्थिति रहेका थिए ।
यसैगरी अतिथिहरूमा रामेछाप जिल्लाका सङ्घीय सांसद पूर्णबहादुर तामाङ, रामेछाप (ख) का प्रदेश सांसद युवराज चौँलागाई, नेपाली काङ्ग्रेस जिल्ला सभापति वर्मा लामा, शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेका थिए ।

शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७२ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा सम्पन्न भएको हो । शुद्धीकरण तथा प्राण प्रतिष्ठा पछि छ्योर्तेन पूजा गर्न तथा दर्शनीय हुन्छन् ।

रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङले शैलुङ क्षेत्रको विकासमा दुवै जिल्लाको उतिकै पहल जरुरी रहेको बताए । ‘शैलुङ भौगोलिक हिसाबले दोलखा र रामेछापको सङ्गमा रहेको पवित्र भूमि हो,’ सांसद तामाङले भने,  ‘यस क्षेत्रको विकासको लागि दुवै जिल्लाको पहल जरुरी छ ।’
त्यसै गरी रामेछाप (ख) का प्रदेश सांसद युवराज चौँलागाईले छ्योर्तेनको निर्माण शैलुङ क्षेत्रको विकासका लागि कोशेढुङ्गा भएको बताए । उनले अबको पाँच वर्षभित्र शैलुङसम्म पुग्ने कालोपत्रे गर्ने, एक वर्षभित्र सञ्चार सुविधा उपलब्ध गराउने र शैलुङको विकासका लागि शैलुङ क्षेत्र विकास समिति गठन गर्ने प्रतिबद्धता जनाए ।
शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले शैलुङ क्षेत्रलाई शैलुङ, मेलुङ र दोरम्बा शैलुङ गाउँपालिकाको साझा पर्यटकस्थल भएकोले तीन वटै पालिकाको साझा आर्थिक स्रोतको केन्द्र बन्न सक्ने भएकाले यस क्षेत्रको विकासमा तीन वटै पालिकाको सहकार्य आवश्यक रहेको बताए ।

दोलखाकै मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले शैलुङ क्षेत्रको विकासमा लागि गुरुयोजना बनाएर अघि बढ्न विलम्ब गर्न नहुने बताए । उनले शैलुङ क्षेत्रको हालसम्मको विकासमा तीन वटै स्थानीय तहले उतिकै भूमिका खेलेको र आगामी दिनमा पनि सहकार्यको जरुरी रहेको बताए । त्यसै गरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले शैलुङ क्षेत्रलाई विवादको विषय बनाउनु भन्दा पनि यस क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्नतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
समाजका अध्यक्ष शेरप शेर्पाका अनुसार टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले वि.सं. २०७० सालमा शैलुङको भ्रमण गरेपछि ‘शैलुङमा ज्याङछ्युब छ्योर्तेन’ निर्माण गर्ने इच्छा व्यक्त गरेको र उनकै इच्छा अनुसार छ्योर्तेनको निर्माणका लागि २०७१ मा शैलुङ रिगसुम गोम्पो सेवा समाजको स्थापना गरिएको हो । रिन्पोछेकै परिकल्पनामा सेवा समाजको अगुवाइमा २०७२ चैत्र २० गते छ्योर्तेनको शिलान्यास गरिएको थियो ।
रिगसुम सेवा समाजका कोषाध्यक्ष डम्बर मोक्तानका अनुसार ३ करोड २९ लाख लागतमा ५५ फिट अग्लो छ्योर्तेन निर्माण गरिएको हो । समाजको विशेष पहलमा दोलखा र रामेछापका स्थानीय सरकार, जनप्रतिनिधि, विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूको सहयोगमा छ्योर्तेन निर्माण गरिएको हो ।
छ्योर्तेनको उद्घाटन समारोहमा दोलखा र रामेछाप जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, लामा, ताम्बा, बोन्पोलगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार