लिदि पहिरोको क्षति – भूकम्प मात्र हैन हाईड्रोबाट मालामाल जनप्रतिनिधिको गैरजिम्मेवारी

जिल्ला प्रशासनबाट जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई लिदिको लागि पठाईएको सुरक्षाको सामाग्री नै गायब

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को विकट गाउँ लिदि पहिरोमा ठूलो मानवीय क्षति हुनुको मुख्य कारण हाईड्रोबाट मालामाल जनप्रतिनिधिहरुको गैरजिम्मेवारीबाट भएको स्थानीय बताउँछन्। लिदिका स्थानीय केदार दोङले जन्मभूमि पोष्टलाई फोन मार्फत दिएको जानकारी अनुसार हाइड्रोपावरमा आफू र आफ्ना आसेपासेहरु कमाउने कंपनिको रुपमा प्रयोग गरेपछि पिडित स्थानीयको गुनासोलाई चासो नदिँदा यो अतुलनीय मानवीय क्षति भएको ठोकुवा गर्छन्।

जन्मभूमि पोष्टले महाभूकम्पका कारण चर्किएकोले त्यहाँ अहिले घटना भएको रे नि, भन्ने प्रश्नमा दोङले यदि भूकम्पलाई ५ वर्षपछि पनि दोष दिने हो भनें यस अघि सुनेपनी नसुनेझैं गरि कानमा तेल हालेर बस्ने, देखेपनी नदेखेझैं गरि बस्ने, अनि अहिले जिम्मेवार व्यक्तिहरु उम्किने मेसो मात्र बनाउन खोजेको बताउँछन्। किनकी भूकम्पले नै हो भनें यस अघि नै यस्तो घटना घटिसक्नुपर्ने हैन र ? किन ५ वर्ष लागेको होला त। भूकम्प भन्दा ठूलो पराकम्पन त यहाँ हाइड्रोपावरको सुरुङ भित्र पढ्केको ब्लास्टिङले हलाउथ्यो। जसले हल्लिएको जमिन झनझन चिरा पर्न थाल्यो। हामीले पटकपटक सम्बन्धित स्थानीय, प्रदेश, संघीय सरकार, जिल्ला समन्वय समिती, जिल्ला प्रशासन देखि हाइड्रोपावर कंपनिलाई समेत ध्यानाकर्षण गराईसकेको थिए तर सबका सब हाइड्रोपावरको पैसामा बिक्दा आज हाम्रो सुन्दर वस्ती संगै ठूलो जनधन सखाप भएको छ।

अर्का पिडित स्थानीय ङेमाछिरिङ दोङले सोझासाझा गाउँलेहरुलाई अत्तोपत्तो नदिई केही सिमित स्थानीय नेताहरुले आफ्नो फाईदाको लागि थाहै नदिई वस्तीको ठिक मुनि हाइड्रोपावरको सुरुङ खन्न लगाउनुले यो विपत्ति व्योहोर्नु पर्ने भएको बताउँछन्। हाम्रो गुनासो, चित्कार कसैले वास्ता गरेनन्। बस्ती सारिदिनुस् भन्दा कसैले वास्ता गरेनन् जसको पीडा आज हामीले आफ्नै आँखा अगाडी देख्न बाध्य भएको छौँ।

जिल्ला प्रशासनबाट जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई लिदिको लागि पठाईएको सुरक्षाको सामाग्री नबाँड्नु आश्चर्य र करोडौं रकम पुनर्निर्माण प्राधिकरणको खातामा थन्काएर राख्नुले लिदि घटना हुन पुग्यो – प्रमुख जिल्ला अधिकारी ढकाल

सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुगल लिदिको बस्ती जोखिम युक्त छ भन्ने लिदिबासीको निवेदन आएपछी तुरुन्तै गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई  स्थानीयको सुरक्षाको निम्ति अस्थायी बासस्थान बनाउन भनी २० थान टेन्ट, ३०० थान त्रिपाल, १०० थान कम्बल दिएर पठाएको भएपनी स्थानीय सम्म नपुगेकोमा आफू अचम्मित भएको बताउनुभएको छ। साथै पुनर्निर्माण प्राधिकरणको खातामा करोडौं रकम थन्काएर मात्र राख्ने र आवश्यक ठाउँमा खर्च नगरिनुले पनि यो घटना घटेको उहाँको भनाइ छ।

त्यस्तै गरि प्रजिअ ढकालले दिएको जानकारीमा भूकम्प पश्चात् पुनर्निर्माण प्राधिकरणले यस अघि नै गरेको अध्ययनमा उच्च जोखिमयुक्त स्थानलाई रेड जोनमा राख्नु पर्नेमा लिदिलाई भनें एल्लो जोनमा राखिएकोले वस्ती सार्न नसकिएको बताउनुभएको छ।

प्रमुख जिल्ला अधिकारी ढकालको भनाइलाई नजिकबाट केलाएर हेर्दा स्थानीय सरकारले सबैभन्दा पहिले र नजिकबाट जिम्मेवारी लिनुपर्ने र सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्नेमा उल्टै जिल्लाबाट आएको सुरक्षा सामग्री नै गायब पार्नुले राष्ट्रिय गाउँ पालिका महासंघका अध्यक्ष समेत रहेका होमनारयण श्रेष्ठको कार्यशैली प्रतिनै गम्भीर प्रश्न उठेको छ।

स्थानीय सरकारले नै जिल्लाबाट पठाएको सामग्री गायब पारेर सामान्य चासो समेत नदिई वितरण नगरिनु गैरजिम्मेवारीको पराकाष्ठा देखिन्छ। स्थानीय सरकारले पाएको अधिकार आफ्ना जनताको सुरक्षा र गर्नै पर्ने हुँदाहुँदै पनि नगरिनु र चासो समेत नलिनुले जनप्रतिनिधिको स्वार्थ प्रष्ट देखिन्छ।

“यस्तो छ अध्यक्ष होमनारायण श्रेष्ठको र बलेफी  A हाईड्रोपावर (३६ मेगावाट) लगायत अन्य हाइड्रो बिचको लुकेको स्वार्थ”

लिदि गाउँ मात्र हैन नाम्फा, सन्चगाउँ, झुल्के, निम्लुङ, बैगाङ टोलका स्थानीयले वस्ती मुनि बन्दै गरेको बलेफी हाईड्रो A (३६) मेगावाटको सुरुङमा ब्लास्टिङले झनझन् जमिन अन्तरिक रुपमा क्षतविक्षत भएको भन्दै यो भन्दा अघि देखि नै गाउँ पालिका अध्यक्षलाई थुप्रैपटक निवेदन सहित र मौखिक जानकारी दिईरहेको थिए। त्यस्तै स्थानीय सरकार नै नजिकको गुनासो सुन्नु पर्ने सरकार भएकैले सो हाइड्रोले बिगतमा बोल्दे, पाङ्गर्पुका स्थानीयहरुको जग्गामा कुनै पनि जानकारी बिनै सडक खनेको र कुनै क्षतिपूर्ति समेत नदिएको भनेंर कयौंपटक निवेदन अनि आन्दोलन गर्दा गर्दा हाइड्रोले चलाखी गर्दै गाउँ पालिका उपप्रमुख शृजना तामाङलाई बिचौलिया बनाई अध्यक्ष श्रेष्ठ लगायत अन्य नजिककाहरुलाई प्रभावमा पारी पाउनुपर्ने जति उचित मुआब्जा समेत बिचमा कमिसन खाएर मात्रै पाएको दुखेसो पोख्दै आएको छ बोल्दे र पाङ्गर्पुका स्थानियले।

“हाइड्रोपावरमा १ स्काईभेटर, १ जेसिबी, ४ टृफर समेत मोटो भाडामा अध्यक्ष श्रेष्ठ र उनकै नजिकका नातेदारकै सन्चालन गरेर आर्थिक लाभ लिरहेको बताईन्छ। त्यस्तै गरि हाइड्रोमा आफन्त, ईष्टमित्र जागिर खाने ठाउँ बनेको बिशेष श्रोतबाट थाहा हुन आएको छ।”

हाइड्रोलाई गाउँ पालिका अध्यक्षले जोगाउने र अध्यक्षलाई हाइड्रोपावरले जोगाउँदा चासो लिनुपर्ने विषयहरु ओझेलमा परेको स्थानीयको गुनासो छ। जनताको गुनासोलाई त्यत्तिकै साम्य पार्दै हाइड्रोको काम अघि बढाउने मेसोमा पालिका प्रमुख देखिएको र अर्को बन्दै गरेको उक्त हाइड्रोपावरमा १ स्काईभेटर, १ जेसिबी, ४ टृफर समेत मोटो भाडामा अध्यक्ष श्रेष्ठ र उनकै नजिकका नातेदारकै सन्चालन गरेर आर्थिक लाभ लिरहेको बताईन्छ। त्यस्तै गरि हाइड्रोमा आफन्त, ईष्टमित्र जागिर खाने ठाउँ बनेको बिशेष श्रोतबाट थाहा हुन आएको छ।

अध्यक्ष श्रेष्ठ यस अघि ५८ लाख २० हजार बराबरको बजेट भ्रष्टाचार काण्डमा मुछिएका थिए। सो बजेट समेत गाउँ पालिकाले जुगल भित्रै बन्दै गरेको बलेफी, मुनलाईट र गेलुङ खोला हाईड्रोपावरको स्काईभेटर निशुल्क लिएर काम गरे पनि बजेट बाटै काम गरेको बिल भर्पाई देखाएको र स्टिमेट भन्दा बाहिरा रहेर कटिङको मात्र काम गरि अरु काम पनि गरेको भनेंर नभएका कामहरुको समेत काम समाबेश गरि सो बजेट बराबरको अनियमितता गरेको आरोप उहाँ लगायत जुगलका अन्य जनप्रतिनिधिहरु सहित कर्मचारीहरु माथी लागेको थियो। जुन मुद्दा अख्तियारमा बिचराधिन अवस्थामा छ।

यसरी हेर्दा जुगल अध्यक्षको लागि बलेफी A लगायत अन्य हाईड्रोपावर व्यक्तिगत र आफ्ना आफन्तहरुको आर्थिक लाभका लागि फाईदा लिने दुनो गाई सरह रहेको बताउँछन्। जसले गर्दा पिडित स्थानीयहरुको गुनासो र समस्या जहाँको त्यैँ। यसकारण पनि लिदि लगायत अन्य स्थानहरु वस्नको लागि अति जोखिम क्षेत्रहरु भएपनि गाउँ पालिकाका जनप्रतिनिधिहरु कमाउने ठाउँ बन्द हुने डरले चुपचाप छन्। जुन चुपचापले गर्दा नै लिदिको त्यो सोझासाझा जनताको आवाज सुनेनन्, चीत्कार सुन्न नै चाहेनन्। कम्तीमा भुगर्भविद् ल्याई यस अघि नै वस्तीको निरीक्षण गर्नुपर्ने होईन र? अब लिदि कै जस्तो दुर्दशा कुन गाउँको हुने हो त्यो थाहा छैन। त्यो भीषण पहिरोमा करिब ३९ जना गरिब जनताहरु विलय भए। अब खै कस्को पालो हो?

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार