
काठमाडौं
तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको रौनकता संगै टुँडिखेल झकिझकाउ भएको छ । नेपाल तामाङ घेदुङको आयोजनामा हुने “मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं” भन्ने मुल नाराका साथ काठमाडौं स्थित टुँडिखेलमा मनाईने ल्होछारको रौनक आजैदेखि सुरु भएको हो ।
बिहिबार टुँडिखेलमा मनाइने ल्होछार महोत्सवका लागि टुँडिखेलमा स्टल, मञ्च निर्माणका काम सुरु भएको छ । टुँडिखेलमा बनाईने स्टलका लागि टेन्ट बनाउने काम भइसकेको छ । डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप यो वर्ष मनाउन लागिएको ल्होछारको लागि सर्पको टाउकोको ठुलो आकृति मञ्चसँगै राखिएको छ ।
ल्होछारको माहोल सुरु भएसँगै टुँडिखेलमा आवातजावत गर्नेको भिड समेत बढेको छ । ल्होछारको स्वागत स्वरुप बुधबार ल्होछार इभ गरिनेछ । बिहिबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । दिउँसो १ बजेदेखि ल्होछारको उद्घाटन समारोह, शुभकामना आदानप्रदान, ख्यातीप्राप्त कलाकारद्धारा साँस्कृतिक प्रस्तुतिका साथ ल्होछार महोत्सव सम्पन्न हुनेछ ।
सो दिन स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहेनछ । भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिनेछ । तीन दिनसम्म मनाइने ल्होछारको पहिलो दिन आज राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको छ । ल्होछार माघ शुुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिन सम्म भव्य रुपमा मनाउने प्रचलन रहेको छ ।