
बलेफी गाउँपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत वडा भित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत करिब २०० विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ। जसमा श्री बनसाँघु मा.वि. ड्यामसाईड, कालिदेवी आ.वि. बसेरी र जनचेतना आ.वि. पहरुगाउँका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो। 
वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष सरु लामा तामाङ रहनुभएको थियो। उहाँले वडा नं. ८ ले उदाहरणीय रचनात्मक कार्य गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठको प्रशंसा गर्नुभयो। पोसाक वितरणले विद्यार्थीको आत्मविश्वास र विद्यालयप्रतिको आकर्षण बढाउने विश्वास पनि व्यक्त गर्नुभयो।
वडा अध्यक्ष श्रेष्ठले यस्ता कार्यक्रम भविष्यमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै, विद्यार्थी प्रोत्साहनका लागि पोसाक वितरण गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले यो पहलले पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। वडा कार्यालयले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै विकासका कार्यक्रम अघि बढाउने जनाएको छ।














