
सिन्धुपाल्चोक,
जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाट क्षमताको नेसम खोला जलविद्युत आयोजनाविरुद्ध स्थानीयले कडा अवरोध गरेका छन्। सीता हाईड्रोपावर कम्पनीले विगतमा गरेको आश्वासन नमानिएको र स्थानीय माग बेवास्ता गर्दै निर्माण अघि बढाएको आरोपसहित प्रभावितहरूले काम रोक्का गराएका हुन्।
स्थानीय फुर्वा दोर्जे लामाका अनुसार आयोजना सञ्चालन गर्नुपूर्व आवश्यक सार्वजनिक सुनुवाइमा वास्तविक प्रभावितलाई जानकारी नदिनु, सहमति कागजमै सीमित राख्नु र कुनै पनि प्रतिवद्धता पूरा नगर्नुजस्ता कारणले स्थानीय आक्रोशित बनेका छन्।
झुठा मुद्दा र कानुनी दमनको आरोप
केही वर्षअघि पाङ्गर्पु, बोल्दे, गुम्बा र क्याङ्सिङका २२ जनामाथि आयोजनाकर्ताले ‘अनाहकमा झुठा मुद्दा’ लगाएको स्थानीयहरूको गुनासो छ। गुम्बामा भएको करेन्ट सट विस्फोटको घटनालाई लिएर आन्दोलनमा सहभागी तथा सहभागी नभएकासमेत धेरै व्यक्तिलाई हाइड्रोले गलत आरोपमा मुद्दा दायर गरी दमन गरेको आरोप स्थानीय साङ्बो शेर्पाले लगाए।
उनका अनुसार, “ज्यान जानेजस्ता गम्भीर घटनामा वास्तविक दोषी पहिचान गर्नुअघि नै गाउँकै सर्वसाधारणमाथि मुद्दा हालियो। जग्गा मिचेर, डोजर चलाएर, हामीलाई हेपेर काम भयो। मुआब्जा त के, हाम्रो पुर्जावाला जग्गा नै नष्ट पारियो।”
जग्गा मिचाइ, वन विनाश र रोकिएको क्षतिपूर्ति
आयोजना निर्माणका क्रममा दर्जनौं स्थानीयको जग्गा मिचिएको, अन्धाधुन्ध सडक निर्माणका कारण सयौं रोपनीमा क्षति पुगेको र हजारौं रूख–बिरुवा नष्ट भएको स्थानीयतर्फबाट आरोप लगाइएको छ।
क्षतिपूर्तिका मागमा कतिपय प्रभावितले उच्च अदालतबाट आदेशसमेत ल्याइसके पनि आयोजना पक्षले स्टे अर्डर लिएर काम निरन्तरता दिँदै विवाद थप चर्काइरहेको स्थानीयको आरोप छ। कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाले आफू सर्वोच्च अदालतसमक्ष पुगेको जनाउँदै माग सम्बोधनभन्दा निर्माण अघि बढाउनेतर्फ बढी सक्रिय देखिन्छन्।

पत्रकार सम्मेलन र चेतावनी
गत हप्ता गुम्बा गाउँमा प्रभावितले पत्रकार सम्मेलन गर्दै, “यो आन्दोलन विकासविरोधी होइन, हिजो कबुलेका सहमतिहरू कार्यान्वयन गराउने आन्दोलन हो,” भन्दै चेतावनी दिएका थिए।

खानेपानी स्रोत हडपिएको आरोप
गुम्बाथाङका स्थानीयले सेवालुङ खोलालाई दशकौंदेखि मुख्य खानेपानी तथा पशुपालनको प्रमुख स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्। अहिले यही खोलालाई हाइड्रोले प्रयोग गर्न खोज्दा गाउँमा गम्भीर संकट निम्तिन सक्ने भन्दै तत्काल रोक्न माग गरिएको छ।
स्थानीयले राखेका मुख्य माग
१) यम्बलिङ खोलामा पक्की पुल निर्माण गर्नु।
२) गाउँको खानेपानी सुनिश्चित नगरी खोलाको पानी परियोजनामा नलगाउनु।
३) आयोजना अघि बढाउनुअघि प्रतिनिधि, उपभोक्ता र प्रभावितसँग समन्वय गरी स्थायी विकल्प र प्रतिपूर्ति योजना ल्याउनु।
४) स्थानीय सहमति, हक–हित र सहभागिताविना कुनै पनि निर्माण कार्य नगर्नु।
५) मिचिएको जग्गाको उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउनु।
६) विगतमा गरेको सामाजिक सहमति तथा आश्वासन तत्काल कार्यान्वयन गर्नु।
जुगल गाउँपालिकामा हाल १४ वटा जलविद्युत परियोजनाहरू विभिन्न चरणमा छन्। कतिपय सम्पन्न भए पनि केहीले स्थानीय–आयोजकबीचको विवादका कारण समयमै अगाडि बढ्न सकेका छैनन्।














