काठमाडौं
चिनियाँ कम्पनी ड्रिमी टेक्नोलोजीको सहयोग र रेन्बो भोलेन्टियर क्लब तथा लिओ क्लब अफ काठमाडौं गौरवको सहकार्यमा काठमाडौंका दुई सामुदायिक विद्यालयमा प्रविधियुक्त कक्षा स्थापना गरिएको छ।
कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित श्री मणिलिङ्गेश्वर आधारभूत विद्यालय र रेन्बो आधारभूत विद्यालयलाई सोमबार र मंगलबार स्मार्ट बोर्ड, कम्प्युटर, विद्यालय झोला तथा शैक्षिक सामग्री वितरण गरिएको हो। यसबाट करिब ३३० विद्यार्थी लाभान्वित भएका छन्।

ड्रिमीकी कार्यकारी अध्यक्ष लिनि छाउले प्रविधि प्रयोगले सिकाइलाई रमाइलो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। रेन्बो क्लबका अध्यक्ष मदन पौडेलले २०७२ सालको भूकम्पपछि निरन्तर सहयोग गर्दै आएको र प्रविधियुक्त शिक्षा विस्तारमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक रमेश दाहालले सरकारी विद्यालयमा घट्दो विद्यार्थी संख्या बढाउन प्रविधियुक्त कक्षाले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।
रेन्बो क्लबले सन् २०१८ देखि कागेश्वरी मनोहरामा सामुदायिक विद्यालय सञ्चालन गर्दै आएको छ, जहाँ करिब १८० विद्यार्थीले निःशुल्क शिक्षा र दैनिक खाना–खाजाको सुविधा पाउँदै आएका छन्। क्लबका अनुसार प्रविधियुक्त सिकाइले बालबालिकाको आत्मविश्वास र सृजनशीलतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।














