
काठमाडौं
बालाजु, अर्थात् ल्हुतिकोट, काठमाडौँको उत्तर पश्चिममा अवस्थित एक ऐतिहासिक नगर हो जहाँ हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन ल्हुति पुन्ही अर्थात् बालाजु बाईसधारा मेला तथा खट जात्रा मनाइन्छ। यस वर्ष पनि मेला र जात्राको तयारी भइसकेको छ।
ल्हुति नेपाल भाषाको शब्द हो जसको अर्थ “ढुङ्गाको पहरो रसाएर बग्ने पानी” हो। यही विशेषताले यस स्थानको नाम ‘ल्हुति’ रहन गएको हो। मल्ल राजा जयप्रकाश मल्लले नेपाल संवत् ८७५ मा बालाजुमा २१ वटा धारा निर्माण गराएपछि यसको ऐतिहासिक महत्त्व सुरु भएको मानिन्छ। पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एक धारा निर्माण गरेपछि यो स्थान बाईसधारा भनेर चिनिन थाल्यो। वि.सं. २०१८ मा राजा महेन्द्रले यहाँ महेन्द्र उद्यानको निर्माण गराएपछि यस स्थानले पर्यटन र धार्मिक दृष्टिले अझ बढी महत्व पायो।
चैत्र शुक्ल पूर्णिमाको दिन हजारौं भक्तजनहरू बालाजु आइ बाईसधारामा स्नान गरी पूर्वतिर रहेको भगवान बालनिलकण्ठको पूजा, नागार्जुन टुप्पोमा रहेको विपश्वी बुद्ध र नागार्जुन महादेवको दर्शन तथा शीतलामाई मन्दिर (प्याथ अजिमा)को पूजा अर्चना गर्छन्। यस दिन स्नान र पूजा अर्चनाले विभिन्न चर्म रोग र विफर रोगबाट मुक्त हुने जनविश्वास छ। यसै दिन मन्नादी देवीको जन्म भएको मानिन्छ र महिलाहरूले विशेष पूजा गर्छन्। साथै, दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने परम्परा पनि छ।
मेलाको प्रमुख सांस्कृतिक विशेषता पाँच दिने खट जात्रा हो जसमा चार प्रमुख खटहरू लौरी विनायक गणेश (पुरानो गुह्येश्वरी), श्वेत विनायक गणेश (बालाजु), जितगुरु गणेश (लोलाङ) र वज्रयोगिनीको रथयात्रा गरिन्छ। जात्राको अन्तिम दिन यी देवताहरूको रथमा विशेष पूजा, वाजागाजा र सिन्दुर जात्रा गरी समापन गरिन्छ।
यस वर्षको मेलालाई भव्य र व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले करिब १० लाख रुपैयाँको बजेटमा तयारी पूरा गरेको छ। प्रमुख व्यवस्थाहरूमा २२ वटै धाराको सरसफाइ, धार्मिक-सांस्कृतिक महत्व झल्काउने प्रदर्शनी, नेपाल स्काउट, सुरक्षा निकाय र स्वयंसेवकहरूद्वारा दर्शन सहज बनाउने व्यवस्था, प्राथमिक उपचार केन्द्र, एम्बुलेन्स, खानेपानी र शौचालयको व्यवस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा महानगर प्रहरीको समन्वयमा सुरक्षा, नेवारी खाना र परम्परागत वस्तुको प्रवर्द्धनका लागि स्टलहरू, एलईडी स्क्रिन र मिडिया प्रत्यक्ष प्रसारण, सुरक्षा र स्वयंसेवकहरूको लागि नास्ता र भोजन, साथै स्थानीय कलाकार र नेपाल प्रहरी ब्यान्डबाट मौलिक सांस्कृतिक प्रस्तुति समावेश छन्।
यस प्रकार, बालाजु बाइसधारा मेला धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो जसले स्थानीय जनजीवन र परम्परालाई समृद्ध बनाउँदै आएको छ ।