सिन्धुपाल्चोक
चौतारा साँगाचोकगढी नगरपालिकामा आज नाराबाजी भएको छ। योजनाको उपभोक्ता समिती गठन देखि विभिन्न पदपुर्ती गर्ने क्रममा नगर प्रमुख नजिकका कार्यकर्ता भर्ति गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय भवनकै गेटमा ‘निरंकुश मेयर मुर्दावाद’ भन्दै नाराबाजी गरिएको छ। दर्जनौं स्थानीयहरु विभिन्न नारा सहितको प्लेकार्ड सहित त्यहाँ पुगेका छन्। यस नगरमा नेकपा माओवादीबाट विजयी कृष्णप्रसाद सापकोटा नगर प्रमुख छन्।
नाराबाजी गर्नुको कारण वडाको रोहवरमा उपभोक्ता समिति गठन गरी सम्झौता हुुनुपर्ने व्यवस्थालाई लत्याउँदै केही योजनाहरु नगर प्रमुख सापकोटाको रोहवरमा सिधै गठन गरी सम्झौता कार्यान्वयन र भुुक्तानी समेत भएकोले विरोध गर्न बाध्य भएको वडा नम्बर ९ का वडा अध्यक्ष विमल श्रेष्ठ बताउँछन्।
आक्रोशित स्थानियका अनुसार चौतारा साँगाचोकगढी ९ को लागि विनियोजित दलित बस्ती विकास शिर्षकको उपभोक्ता समिति बनाउदा मेयरले माओवादी पार्टीका कार्यकर्तालाई मात्रै समावेश गर्न खोजेका थिए । ८ लाख रुपैयाँको सो योजनामा अन्य दलका प्रतिनिधिले समेत समितिको जिम्मेवार पदमा रहन खोजेपछि विवाद उत्पन्न भएको थियो ।
वडामा आएको जुुनसुुकै योजना वडालाई जानकारी सम्म नगराई एकलौटी ढंगबाट आफ्नो कार्यकर्तालाई मात्र उपभोक्ता समिति बनाईएको वडा अध्यक्षहरुको अरोप छ । वडाबाट हुुने योजना सम्झौताको काम सबै नगरपालिकाका मेयरले गर्ने भए नागारिकताको सिफासिसको काम पनि मेयरले नै जिम्मा लिए हुुने वडा नम्बर २ का वडा अध्यक्ष सुुदिप श्रेष्ठले बताए।
गत वर्षदेखि नै फरक पार्टीबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको वडामा नगरपालिकाले अपमानित ढंगले पेल्दै आएको उनीहरुले आरोप लगाएका छन् । विकास निर्माणको कामका लागि बनाएका उपभोक्त समितिको पदअधिकारी उपभोक्ताबाट चुुनिएर आउनेलाई मान्यता दिनु पर्ने माग उनीहरुको छ।