
काठमाडौ , दिपक कार्की
१६ वर्ष मुनिका बालिकामाथि बलात्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको सांसदहरुले बताएका छन्।
संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बुधबारको बैठकमा उक्त कुरा उठेको हो।
हाल नेपालमा लागु भएको संविधानमा कुनै पनि अपराधको विरुद्धमा मृत्युदण्डको सजाय उल्लेख नगरेको भएतापनि यस्ता जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिने विषयमा छलफल आवश्यक भएको सांसदहरुले बताएका हुन् ।
बैठकमा नेपल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पूर्णकुमारी सुवेदीले बलात्कार गरी हत्या गर्नेहरुलाई मृत्युदण्डकै सजायको कानून बनाउनुपर्ने साथै मृत्युदण्डको विषयलाई बहसको विषय बनाउनु आवश्यक रहेको बताएकि छन।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की अर्की सांसद शान्ता चौधरीले बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड दिने सम्बन्धमा संविधान संशोधन र महासन्धिहरुमा पुनरावलोकन गरेर भएपनि जान सकिने विषयमा छलफल आवश्यक रहेको साथै मृत्युदण्ड दिने कानून बनाउने सम्बन्धमा सबै राजनीतिक दलका महिला सांसदहरुबीच छलफल भएको बताइन् ।